काठमाडौँ - सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ।
पाराग्वेलाई २-० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो। कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरेका थिए।
खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो। उनले वियट्रिज जेनराटो जोआओको पासमा गोल गर्न सफल भएकी थिइन्। २८औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेकी थिइन्।
योसँगै ब्राजिल सबै ९ संस्करणको फाइनलमा पुग्न सफल भएको छ। अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्वियासँग साउन १४ गते राति प्रतिस्पर्धा गर्नेछ।
२ पटक फाइनलमा पुगेको कोलम्वियाले १ पटकको च्याम्पियन अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल ३० जुलाईमा हुनेछ।
सन् १९९१ देखि ब्राजिलबाट सुरु भएको कोपा अमेरिका फेमेनिनाको नवौं संस्करण जारी रहँदा ब्राजिलले सर्वाधिक ७ पटक उपाधि जितेको छ। ब्राजिल २००६ मा अर्जेन्टिनासँग २-० ले पराजित हुँदै पहिलो पटक उपाधिबाट विमुख बनेको थियो। त्यसअघिको चार संस्करण र त्यसयताको सबै ३ संस्करणमा ब्राजिल च्याम्पियन बनेको छ।