काठमाडौँ। छेतेन गुरुङ र सन्तोष सेन निर्देशक रहेको चलचित्र ‘प्रेमगीत ३’ नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने तयारीमा रहेको छ। चलचित्र फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रको हिन्दी संस्करणको गीत रेकर्ड गर्ने कार्य भर्खरै सकिएको छ। चलचित्रको निर्माण कम्पनी आशुसेन फिल्मस्ले एक विज्ञप्तीमार्फत बुधबार यो कुराको जानकारी दिएको हो। चलचित्रका लागि राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’ गाएका छन्। सन्तोष सेनको लगानीमा निर्माण भएको चलचित्रको गीतमा कुमार र एम तुराजको शब्द रहेको छ। चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम आदि कलाकारहरुको अभिनय रहेको छ।