विज्ञान प्रविधिको क्षेत्रमा प्रधानमन्त्री देउवाको टिप्पणी; एकीकृत र समन्वयात्मक प्रयासको खाँचो

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन्।

नास्टको आज भएको ४५औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरूपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताएका छन्। सो क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।

मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। उनले भने, “प्रतिष्ठानले केही समयअगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पुर्याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु।

विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नवप्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घसंस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु।”

नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको आफूले उच्च मूल्याङ्कन गरेकोसमेत  प्रधानमन्त्री देउवाले जानकारी गराएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×