काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भारतका बजारसम्म सजिलै पुग्न सक्ने भएकाले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
तेस्रो लगानी सम्मेलनमा उनले नेपालले ठूला देशको बजारमा सहज पहुँच रहेकाले लगानीको उपयुक्त अवसर रहेको बताए । “हामी विश्वका दुई ठूला अर्थतन्त्रका बीचमा छौँ, आन्तरिक बजारको साथै विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु छ,” उद्योग मन्त्री भण्डारीले भने, “अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीनतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकासमा विशेष जोड दिनुपर्नेछ ।”
पछिल्लो समय प्रविधिको विकासले उत्पादनको तरिका, स्थान र आपूर्ति प्रणाली परिवर्तन भएको उद्योग मन्त्री भण्डारीको भनाइ छ । बजारको माग र आपूर्तिका शृङ्खला परिवर्तन भएको उनले बताए । “उपभोक्ताको चाहना र सन्तुष्टिको स्तर परिवर्तन हुँदै गएको छ । त्यस कारण हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ”, उनले भने, “हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।”