धनुषा - जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखका लागि ५१ जनाले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका छन्। मुख्य दलले बागी उम्मेदवार नबनोस् भन्ने सोचका साथ उम्मेदवारी दर्ताको अन्तिम दिन उम्मेदवार टुङ्गो लगाए पनि धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा नेकपा (एमाले) र नेपाली कांग्रेस छन्।
मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुर उपमहानगर प्रमुख पदका लागि विभिन्न दलबाट १२ र स्वतन्त्ररूपमा २९ गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। यस्तै उपप्रमुख पदका लागि विभिन्न दलबाट १० र स्वतन्त्र २२ गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए।
त्यस्तै २५ वडा रहेको जनकपुरधाम उपमहानगरको २५ वडाध्यक्षका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ३३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने महिला वडा सदस्यका लागि १७४ र दलित महिला वडा सदस्यका लागि १८० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नगरप्रमुख पदमा लोसपाले टिकट नदिने भएपछि केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका जानकीराम साह एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्ररूपमै उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
सुरुमा टिकट दिन्छु भनेर पार्टीमा भित्र्याएपछि पार्टीले धोका दिएकाले आफूले स्वतन्त्ररूपमा उम्मेदवारी दिएको साहले बताए। विगत चार दशकदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहे पनि पार्टीले टिकट नदिएको भन्दै एमालेका नेता रामसेवक यादवले पनि स्वतन्त्ररूपमै उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सत्ता साझेदार दलको भागबण्डाका क्रममा जनकपुरधामको नगरप्रमुख जसपा र उपप्रमुख कांग्रेसको भागमा परेपछि असन्तुष्ट बनेका कांग्रेसका जनकपुरधाम नगर समितिका सभापति मनोज साहले पार्टी परित्याग गरी स्वतन्त्ररूपमा नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै बलराम महतो, सुधीरकुमार महतो, अनिल पजियार, विक्की यादव, लक्ष्मण साह, श्यामकिशोर मण्डललगायतले पनि स्वतन्त्ररूपमै उम्मेदवारी मनोनयपत्र दर्ता गराएका छन्।
एमालेले उपप्रमुखमा टिकट नदिएपछि उमेश चौधरी, सरोजकुमार मिश्र, कुमारी बनिता यादव र कांग्रेसले टिकट नदिएपछि निर्मलकुमार चौधरीले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। धनुषा जिल्लामा स्थानीय तह निर्वाचनका लागि मुख्य दलसहित विभिन्न ३२ वटा दल दर्ता छन्।