काठमाडौँ । नेपाल बारले समग्र न्यायिक प्रक्रियामा नै अवरोध हुने गरी गर्दै आएको आन्दोलनको सरकारी वकीलहरूको समाजले विरोध गरेका छन्। समाजले शान्तिपूर्ण रूपमा कानुनी र संवैधानिक मार्गबाट समाधान खोज्न आग्रह गरेको हो।
सर्वोच्चमा जारी गतिरोधको समाधान वार्ता र संवादबाट मात्रै निस्कन सक्ने भन्दै नेपालका सरकारी वकिलहरूको समाजले उचित मार्ग खोज्न आग्रह गरेको हो। समाजद्वारा जारी विज्ञप्तिमा संवैधानिक र कानुनी मार्गबाट अदालतमा जारी गतिरोधको समाधानमा जान सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। न्यायिक प्रक्रियामा प्रभाव पर्ने गरी जारी नेपाल बारको आन्दोलन वार्ताबाट र संवैधानिक मार्गबाटै निकास खोज्न समाजले सबै पक्षसंग आग्रह गरेको छ। समाजले अदालत परिसरभित्र प्रहरी र कानुन व्यवसायीबीच भिडन्त हुने अवस्था सिर्जना हुनु समग्र न्यायक्षेत्रकै लागि लज्जास्पद भएको बताएको छ।
साथै, अदालतभित्र गालिगलौजको भाषा प्रयोग हुनु पनि न्यायिक इतिहासमै आजसम्म देखिएको निन्दनीय अभ्यास भएको समाजको ठहर छ। समाजले प्रधानन्यायाधीश, न्यायाधीश र नेपाल बारका पदाधीकारीलाई जारी गतिरोधको अन्त्यका लागि मिलनविन्दुमा आउन आग्रह गर्दै न्यायिक प्रक्रियामा अवरोध सिर्जना हुने कार्यको समाधान तत्काल निकाल्न समेत आह्वान गरेको छ।