काठमाडौँ - राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन्। सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन्।
कम्पनीमा दर्ता भएर अनलाइनमा सेवा दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा मोलमोलाई गर्ने प्रवृत्ति बढ्दो छ। राइडर र व्यक्तिपिच्छे भिन्न भाडा दरमा मोलमोलाई गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ।
अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन्। युवा माझ मोटरसाइकल आयआर्जनको साधन हुनुका साथै लाखौँ युवा स्वरोजगार पनि भएका छन्। तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ।
हाल राइडरका रूपमा यस्ता राइड सेयरिङ एप्समा झन्डै तीन लाख ५० हजार नेपाली युवा जोडिएका छन्।
गोरखापत्र दैनिकबाट