काठमाडौँ - 'हेरा फेरी' फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो। फिल्मको अन्तिम २ भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
यस्तो अवस्थामा फ्यानहरू लामो समयदेखि तेस्रो भागको प्रतिक्षामा बसेका थिए। हालै परेश रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा कार्तिक आर्यन फाइनल भएको जानकारी दिएका छन्।
यो खबर बाहिर आएपछि अक्षयका फ्यानहरू निकै निराश भएका छन्। त्यसबेलादेखि अक्षयलाई 'हेराफेरी ३' मा फर्काउने माग भइरहेको छ। नो अक्षय, नो हेरा फेरी ट्विटरमा ट्रेन्डिङमा छ। अक्षय बिना हेराफेरी ३ फ्लप हुने दाबी गरिरहेका छन्।
सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा मानिसहरू कार्तिकलाई फिल्मको तेस्रो भागमा हेर्न चाहँदैनन् भन्ने अनुमान गर्न सकिन्छ। 'हेरा फेरी' बलिउडको सदाबहार फिल्म मध्ये एक हो, जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए।
यसअघिका २ भागमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल मुख्य भूमिकामा रहेका थिए। दुवै भाग दर्शकमाझ त्यतिबेलाको जस्तै आज पनि चर्चित छन्।