नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का

चितवन - पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ। यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ। सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिए।

उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ। अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ। अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ। २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ। २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो।

महाशाखा प्रमुख शाक्यले भने, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ। डेढ अर्ब रुपियाँको लागतमा सो पुल निर्माण हुन गइरहेको छ। स्वदेशी लगानीमा नै यो पुल निर्माण हुन लागेको हो। सो पुल निर्माणको लागि तुँदी निर्माण कम्पनी छनोट भएको हो। यस पुलको निर्माण अवधि चार वर्ष रहेको छ।’’

उनका अनुसार यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थियो। तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो। 
गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×