काठमाडौँ - नेपालका लागि मनोनित अमेरिकी राजदूत डीन आर थम्पसनले गरेको टिप्पणीको बेइजिङले खण्डन गर्दै त्यसलाई निराधार भनेको छ। गत बुधवार सिनेटको विदेश सम्बन्ध समितिसमक्ष मनोनित राजदूत थम्पसनले चीनको विकृत सूचना अभियानको सामना गर्दै गत फेब्रुवरीमा नेपालको संसद्ले ५० करोड अमेरिकी डलरको अनुदान परियोजना पारित गरेको बताएका थिए।
थम्पसन टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले त्यसलाई निराधार भनेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी)लाई लिएर भएको उक्त टिप्पणीको प्रतिवाद गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार थम्पसनको भनाइले चीनको निन्दा मात्र नभइ नेपाल र नेपालीलाई अपमानित गरेको बताएको थियो।
“यो नेपाल सरकार र जनताले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न तथा राष्ट्रिय हितको रक्षाका निम्ति गरेको काम हो। अन्तर्राष्ट्रिय विकास सहयोग लिँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ भन्ने चीनको दृढ विश्वास रहेको छ,” दूृतावासले जारी गरेको वक्तव्यमा भनिएको छ।
सत्तारुढ गठबन्धन भित्रको असमझदारीपछि व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएको थियो। एमसिसी सैन्य सम्झौता भएको अफवाहले लामो समयसम्म यो विकास सहायता विवादको विषय बनेको थियो। ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न अमेरिकाबाट अनुदानस्वरुप उक्त सहायता प्राप्त भएको हो।