काठमाडौं । नेपालका तीन पत्रकार शान्ति सञ्चार दूत नियुक्त भएका छन् । विश्वमा जारी सबैखालका द्धन्द्ध अन्त्य गरि शान्ति पुनस्थापना गर्ने उदेश्यले सन् २०१३ देखि शान्ति अभियानमा क्रियाशील एचडब्लुपीएलले शनिवार नेपालका थप तीन पत्रकारलाई पब्लिसिटी एम्बासडर नियुक्त गरेको हो ।
भर्चुअल माध्यमबाट आयोजित एक कार्यक्रमकाबीच एचडब्लुपीएलले एसियाका विभिन्न देशहरुबाट पब्लिसिटी एम्बासडर नियुक्त गरेको हो । नेपालका तर्फबाट अर्थन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रञ्जन झा, गोरखापत्र दैनिक तथा हाम्रो पाहुर डट कमका लक्की चौधरी र खोजखबर डटकमका रत्नबहादुर सुनुवार एचडब्लुपीएलको नयाँ पब्लिसिटी एम्बासडर नियुक्त भएका छन् ।
पब्लिसिटी एम्बासडरहरुले देश,समाज र समग्रमा विश्वमा शान्तिको सन्देश प्रवाह हुने सकरात्मक र सुखद समाचारहरु आफ्नो सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित गर्छन् । शान्तिका क्षेत्रमा राजनीतिक, शैक्षिक वा सामाजिक नीति निर्माण गर्न सम्बन्धित देशका सरकारलाई घच्घच्याउने काम पनि पब्लिसिटी एम्बासडरहरुले गर्नेछन् ।
कार्यक्रममा स्वागत गर्दै एचडब्लुपीएलका प्रबन्धक एलिस किमले शान्ति स्थापनाको अभियान सञ्चार माध्यमको सहयोग विना सम्भव नहुने एचडब्लुपीएलका केन्द्रीय अध्यक्ष मान ही लीको भावना अनुरुप विश्वका ७० भन्दा बढी देशहरुमा पब्लिसिटी एम्बासडर क्रियाशील रहेको जानकारी दिए । किमले जनताको हृदयमा शान्तिप्रतिको विश्वास बढाउन र समाजमा भैरहेका शान्ति गतिविधिबारेको सही सूचना र समाचार सञ्चारकर्मीले मात्र सम्प्रेषण गर्न सक्छन् भन्ने अध्यक्ष लीको विश्वास रहेको बताए।
सो अवसरमा बोल्ने विभिन्न देशका वक्ताहरुले शान्तिका लागि अन्तर्राष्ट्रिय कानूनको पूर्ण कार्यान्वयन हुनुपर्ने, देश र समाजमा विद्यमान धार्मिक वा कुनै प्रकारका अतिवादको अन्त्य हुनुपर्ने लगायतका एचडब्लुपीएलको भावना अनुरुप क्रियाशील रहने प्रतिवद्दता समेत व्यक्त गरे । नेपालसहित विश्वका १३० बढी देशहरुमा क्रियाशील एचडब्लुपीएलले विद्यालय तहबाटै शान्ति शिक्षाको पठनपाठनका लागि विभिन्न देशका सरकारसँग समन्वय,सहकार्यका लागि सहमति सम्झौता समेत गर्दै आएको छ ।
कार्यक्रममा नव नियुक्त दक्षिण एसियाली पब्लिसिटी एम्बासडरहरुको स्वागतमा नेपालका पब्लिसिटी एम्बासडर एवम् पत्रकार दीपेन्द्र दोङ तामाङ र पियारत्न महर्जन लगायतले स्वागत सन्देश व्यक्त गरेका थिए ।