सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । भोली र पर्सी (पुस २३ र २४) गते हुने जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले सोलुखुम्बुले बिहीवार सांँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोलु दुधकुण्ड नगरपालिका ६ दोर्पु स्थित योङ्ग स्टार क्लवको कभर्डहलमा हुने अधिवेशनका लागि स्टेज व्यवस्थापन, अधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र स्वयम् सेवकहरुका लागि होटल तथा मेस व्यवस्थापन लगायतका सबै तयारी सकिएको मञ्च तथा स्वयम् सेवक व्यवस्थापन समितिका संयोजक दिपक राजभण्डारीले जानकारी दिए।
उहाँका अनुसार शुक्रवार मध्यान्न १२ बजे सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य मानवीर राईले गर्नेछन्। अधिवेशनमा १९४ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी र साङ्गठनिक सदस्यहरुबाट छनोट भएका ३०६ जना गरी ५ सय जना प्रतिनिधिहरुको सहभागिता हुने राजभण्डारीले जानकारी दिए ।
उहाँका अनुसार पार्टीको विधान अनुसार जिल्ला आयोजक कमिटीका १९४ प्रतिनिधिहरु स्वतः अधिवेशन प्रतिनिधि हुने छन् । पार्टीका ३ हजार ३० जना सङ्गठनिक प्रतिनिधीबाट भने ३०६ जना छनोट भएका छन्। जसमा खुल्लाबाट २० जना बराबर १ जना, महिला तर्फ १० जना बराबर १ जना र उत्पिडित जातीतर्फ ५ जना बराबर १ गरी ३०६ जना सङ्गठनिक प्रतिनिधी छनोट भएका छन् ।
कार्यक्रममा सहभागी हुने सबै पाहुनाहरु सदरमुकाम आईसकेको आयोजक कमिटीले जनाएको छ । दुई दिनसम्म चल्ने सातौँ जिल्ला अधिवेशनले नेकपा एमाले सोलुखुम्बुको नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागि सहमतीबाटै नेतृत्वको टुंगो लाग्ने सम्भावना रहेको एमाले निकट स्राेतले जनाएको छ ।