पाल्पा - रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ। वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए। यहाँका १५ महिला तालिममा सहभागी छन्। तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन्।
सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च व्यवस्थापन गाउँपालिकाले उपलब्ध गराएको छ। घरायसी कामधन्दासँगै फुर्सदको समयमा ढाका कपडा बुनेर आर्थिकस्तर उकास्न सकियो भने महिला परनिर्भरता हट्ने महिला सञ्जाल रम्भाका अध्यक्ष कुविजा अर्यालले बताइन्।