काठमाडौँ - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल पौडी संघले खेलाडी छनोट गर्ने भएको छ। त्यसका लागि २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुरमा हुने भएको छ।
छनोट भएका खेलाडीहरुले १९ औं विश्व पौडी प्रतियोगिता वुढापेस्टका साथै गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतिायेगिता र चीनमा आयोजना हुने एशियाली खेलकुदका लागि खेल्ने आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जगतमान श्रेष्ठले जानकारी दिएका छन्।
प्रतियोगितामा १५० खेलाडीको सहभागिता रहने र सम्पन्न गर्न कम्तिमा ६ लाख रुपैयाँ खर्च हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइको छ।
उक्त प्रतियोगिता १९औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि प्रथम चरणको छनौट प्रतियोगिता समेत हुने बताइएको छ। कोभिड १९को कारण बिगत २ बर्षदेखि नेपालमा राष्ट्रिय स्तरको पौडी प्रतियोगिताहरु हुन सकेका थिएनन्।