ओलम्पिक खेलकुदका लागि नेपालका १० खेलाडीलाई छात्रवृत्ति

काठमाडौँ - सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदका लागि नेपालका १० खेलाडीले छात्रवृत्ति पाएका छन्।

सम्बन्धित खेल संघको सिफारिसका आधारमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १० खेलाडीलाई छात्रवृत्तिका लागि छनोट गरेको हो। एनओसीले छनोट गरेका खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि स्वीकृत गरिसकेको जनाइएको छ।

ओलम्पिक छात्रवृत्ति पाउने खेलाडीमा टेबुल टेनिसका संयोग कपाली, फेन्सिङका पायस योञ्जन, पौडीका नासिर हुसेन, ब्याडमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, सुटिङकी सुस्मिता नेपाल, तेक्वान्दोकी युनिसिया राई, डान्स स्पोर्टका दीपक लामा, गल्फका सुवास तामाङ र भारोत्तोलनका सागर भण्डारी छन्।

छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक सात सय ५० डलर प्राप्त गर्नेछन्। ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्र्ताष्ट्रिय सहभागिता, खेल सामग्री, बिमा, स्वास्थ्य परीक्षण र तयारीका लागि खर्च गर्नुपर्ने छ। ओलम्पिकमा छनोट हुन सफल भएमा भने ओलम्पिकसम्म नै छात्रवृत्ति कायम रहने एनओसीले जनाएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि खेलाडीलाई छात्रवृत्ति प्रदान गर्दै  आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×