काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ ।
निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।
आयोगले आगामी माघ १२ गते हुन लागेको निर्वाचनका लागि राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ ।
यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले माघ १२ गते राष्ट्रियसभाको १९ जना सदस्यका लागि निर्वाचन गर्न लागेको हो ।
यसैबीच आयोगले आइतबारदेखिनै निर्वाचन आचारसंहिता जारी गरेको छ । आचारसंहिता सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दललगायतमा लागू हुने विज्ञप्तिमा उल्लेख छ ।