काठमाडौं– एमाले युवा फाँट इञ्चार्ज महेश बस्नेतविरुद्ध भ्रुण हत्या र बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको उजुरी ‘फेक’ रहेको निचोड निकाल्दै तामेलीमा राखिएको छ।
प्रहरीको उक्त निर्णय सरकारी वकिलको कार्यालयले सदर गरिदिएको छ। यसको अर्थ अब पाठकको उजुरीमा तत्काल अनुसन्धान नहुने भएको छ। यति हुँदा पनि बस्नेतको राजनीतिक जीवन नै अप्ठ्यारोमा पार्नेगरी पाठक मिडियाबाजीमा उत्रिएकी छन्।
झण्डै तीन साताअघि उनले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। प्रहरीले फाइल अगाडि नबढाएको भनी पाठक सार्वजनिक रुपमा मिडिया र पत्रकार सम्मेलनमा आउँदै ‘प्रमाणसहित आएकी छु’ भनी उक्त उजुरी आफैंले दिएको स्वीकार गरेकी छन्।
सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि प्रहरीले दर्ता गरेर जाहेरीबारे नै छानबिन गरेको थियो। जिल्ला प्रहरी परिसरका अनुसार छानबिन गर्दा जाहेरी झुटा र काल्पनिक देखिएको हो। प्रहरीले मुलुकी कार्यविधि संहिताको दफा ११ बमोजिम तामेलीमा राख्ने राय सरकारी वकिलकहाँ पठाएको थियो।
अहिले तामेलीमा राख्ने प्रहरीको रायलाई सदर गरे पनि पछि प्रमाण जुटाएर अनुसन्धान हुन सक्ने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
बस्नेतसँगको सहवासबाट बच्चा बसेको गर्भ गलत औषधि खुवाएर पतन गराइदिएको महिलाको उजुरीमा सत्यता नभएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो।
भक्तपुर सामुदायिक अस्पतालले बस्नेतको २०७२ सालमै परिवार नियोजन गरेको भन्दै पठाएको पत्रानुसार पाठकको दाबी झूठो रहेको बताइन्छ।
महिलाले जाहेरीमा यसअघि पोखरास्थित चरक अस्पतालमा गर्भपतन गराउँदा बस्नेतले हस्ताक्षर गरेको रिपोर्टको फोटोकपी जाहेरीसाथ पेस गरेकी थिइन्। त्यो रिपोर्ट नै आफ्नो नभएको भनेर चरक अस्पतालले लेखी पठाएको पत्रलाई पनि जाहेरी झुटो भएको प्रमाणका रूपमा प्रहरीले लिएको एक अधिकारीले जानकारी दिए।