काठमाडौँ। डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग फर्कने भएका छन्। उनलाई इंग्लिस क्लब ब्रेन्टफोर्डले अनुबन्ध गर्ने पक्का भएको हो। ब्रेन्टफोर्डले एरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गर्न लागेको हो।
एरिक्सनको मेडिकल समेत पूरा भएको बताइएको छ। उनी सन् २०२० मा प्रिमियर लिग क्लब टोटेनहमबाट इटालियन क्लब इन्टर मिलान गएका थिए।
२९ वर्षीय एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन्। हृदयघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ। आइसिडी नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले केही समय अगाडि सम्झौता रद्द गरेका थिए।
युरोकपमा फिनल्यान्डविरुद्धको खेलका दौरान हृदयघात भएर मैदानमै ढलेका एरिक्सनको तत्काल मैदानमै सिपिआर दिइएको कारण ज्यान बचेको थियो। पछिल्लो समय एरिक्सन डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए ।