काठमाडौँ - पछिल्लो समय फिल्म प्रचारका लागि निर्माता टिकटकदेखि गीत निर्माणसम्मको प्रतियोगिता आयोजना गर्न थालेका छन्। यस्तैमा केही अगाडि टिजर सार्वजनिक गरेको फिल्म ‘२ नम्बरी’ ले शिर्ष (टाइटल) गीत प्रतियोगिताको आह्वान गरेको हो।
फिल्मका लागि उत्कृष्ट शिर्ष गीत बनाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार समेत राखिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिएका छन्।
प्रतियोगिताका लागि गीत रेकर्ड गराएर फिल्ममा समावेश गरिनेछ। ‘प्रतियोगीतामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन्’ निर्माता नेपाली भने ‘फिल्मको टिजरआएको छ। त्यो हेरेर टाइटल गीत बनाउन सकिनेछ।’ लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने नेपालीले बताएका छन्।
बाहिरबाट प्राप्त गीत आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक-गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताएका छन्। गीत भदौको ३१ गतेभित्र पठाउनुपर्नेछ। गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ।
किरण नेपालीको प्रस्तुति र दीपेन्द्र लामाको निर्देशन गरेको फिल्म दुई नम्बरी आगामी असोज २१ गते रिलिजको तयारीमा छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ।