काठमाडाैँ - न्युजिल्यान्डका पूर्व कप्तान तथा विस्फोटक ब्याट्सम्यान ब्रेन्डन म्याककुलम इङ्गल्यान्डको टेस्ट टोलीका प्रशिक्षक बन्ने भएका छन्। इङ्गल्यान्ड क्रिकेट बोर्डले म्याककुलमलाई जिम्मेवारी दिने निश्चित भएको छ। ४० वर्षीय म्याककुलुम यसै साताभित्र नियुक्त भइसक्ने उल्लेख गरिएकाे छ।
म्याककुलुम हाल इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब कोलकाता नाइट राइडर्सका प्रशिक्षक रहेका छन्। म्याककुलमले इङ्लिस टोलीमा क्रिस सिल्भरउडको स्थान लिनेछन्।
टोलीको खराब प्रदर्शनपछि सिल्भरउडले गत फेब्रुअरीमा जिम्मेवारी छाडेका थिए। सन् २०१९ मा खेलाडी जीवनबाट सन्न्यास लिएका म्याककुलमले प्रथम श्रेणी क्रिकेटमा प्रशिक्षण नगरे पनि न्युजिल्यान्डका लागि एक सय एक टेस्ट खेल खेलेका थिए।
उनले टेस्ट क्रिकेटमा १२ शतक र ३१ अर्धशतक बनाएका छन् भने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ शतक र ३२ अर्धशतक बनाएका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको २ अर्धशतक र १३ अर्धशतक रहेको छ।