काठमाडौँ - अरहान्त केशर सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको खेलमा जित निकाल्दै यी चारै खेलाडी अन्तिम चारमा पुगेका हुन्। प्रिक्वार्टरफाइनल खेलमा अरहान्तले आभान श्रेष्ठलाई ३-० को सोझो सेटमा हराएका थिए। यसपछि खेलको क्वार्टरफाइनल खेलमा उनले गोपाल थापालाई पनि ३-० ले नै पराजित गरेका थिए। अन्तिम चारमा उनको सामना अमिरसँग हुनेछ।
यस्तै अमृतले दिव्य बज्राचार्यको चुनौती ३-० को सोझो सेटको जितले पन्छाए भने अमिरले राजेन्द्र शाक्यलाई हराउन ४ सेट संघर्ष गर्नुपरेको थियो। उनले पहिलो सेट हारे पनि पछिको ३ सेट जितेर अन्तिम चारको यात्रा तय गरेका हुन्। यसैगरी दीपकले उमित शाक्यलाई ४ सेटमै हराएर अगाडि बढेका थिए। अमृत र दीपकले अन्तिम ४ मा फाइनल पुग्न एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताकै महिला एकलतर्फ विपना ब्लोनले भावना सुनुवारलाई ३-० को सीधा सेटमा हराएकी थिइन्। यस्तै कृष्णा थापाले स्वस्थानी श्रेष्ठलाई हराउन निकै कसरत गर्नु परेको थियो। उनले स्वस्थानीलाई ३-२ को ५ सेटमा हराएकी थिइन्।
यसअघि पहिलो खेलमा उनले सालिनी घिमिरेबाट वाकओभर पाएकी थिइन्। नेपाल स्क्वास -याकेट्स संघद्वारा आयोजित प्रतियोगितामा पुरुष एकलतर्फको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने २ जनालाई जनही १० हजार दिइनेछ। महिला एकलतर्फ विजेताले २० हजार पाउनेछिन् भने फाइनलमा हार्ने खेलाडीले १० हजार प्राप्त गर्नेछिन्। सेमिफाइनलमा रोकिएका २ खेलाडीले समान ५ हजार पाउनेछन्।