काठमाडौँ - नामिबिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले फेरि अर्को खेलमा चुनौती दिन सकेन। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा फितलो प्रदर्शन गरेको नेपाल विश्वकप लिग २ को खेलमा बिहीबार स्कटल्यान्डसँग ८ विकेटले पराजित हुन पुग्यो।
विन्डहोकको युनाइटेड क्रिकेट क्लबमा टस जितेको नेपाल ३५.३ ओभर खेल्दै १ सय १९ रनमै अलआउट भयो। जवाफमा क्रिस्टोफार म्याकब्रिजले अविजित ४६ रन बनाएपछि स्कटल्यान्डले १७ ओभरमै १ सय २१ रन बनायो। लिग २ मा नेपालको यो छैटौं शृंखला हो। नेपालले पहिलो पटक शृंखलामा कुनै खेल जित्न सकेन।
नामिबियासँग शुक्रबारको पहिलो खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो। नामिबियाले पहिलो ओभरमा ४ रन बनाएको अवस्थामा खेल रद्द हुन पुग्यो। स्कटल्यान्डसँग अर्को खेलमा १ सय ३७ रनमात्र बनाउन सकेको नेपालले ३ विकेटको हार व्यहोरेको थियो। बुधबार २ सय ७५ रन बनाउँदै नामिबियाले नेपालसँगको खेल ८६ रनले जितेको थियो।
३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको स्कटल्यान्डले उपाधि जित्ने निश्चित भइसकेको छ। ओमान ४४, नामिबिया ३७, अमेरिका ३५, यूएई २७ अंकसाथ क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन्। नेपाल २४ खेलमा १८ अंकसाथ छैटौं स्थानमा रहेको छ। ७ राष्ट्र सहभागी लिग २ को शीर्ष ३ राष्ट्र विश्वकप छनोटमा पुग्नेछन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन्।
बाँकी रहेको १२ खेलमा ९ मा विजय हात पारेमा नेपाल कम्तीमा शीर्ष ५ भित्र अटाउन सक्छ। नेपालले बाँकी रहेको ३ मध्ये २ शृंखला घरेलु मैदानमा खेल्नेछ। नेपालले यूएई र पपुवा न्युगिनीसँग ४-४, स्कटल्यान्ड र नामिबियासँग २-२ खेल खेल्न बाँकी छ।
नेपालले पछिल्ला ६ खेलमा ५ मा पराजय भोगेको छ। पछिल्ला ६ महिनामा खेलेको लिग २ का १२ खेलमा नेपालले ८ मा पराजय भोगेको छ भने २ खेलमात्र जित्न सकेको छ। बाँकी २ खेलमध्ये एक ‘टाइ’ भएको थियो भने यसै शृंखलामा नामिबियासँगको १ खेल रद्द भएको हो।
नेपालले पुनः एकपल्ट सुरुआत राम्रो गर्न सकेन। नेपालको १६ रन बन्दा ओपनरद्वय अर्जुन साउद (०), आसिफ शेख (१) र ज्ञानेन्द्र मल्ल (९) आउट भइसकेका थिए। कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाएका थिए। उनले ५७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। दीपेन्द्रसिंह ऐरी १४, आरिफ शेख १, गुलशन झा ५, सोमपाल कामी १६, ललित राजवंशी ११ रनमा आउट भएका थिए। स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले २/२ विकेट लिएका थिए।
पूर्व कप्तान केयल कोइट्जर १६ रनमा आउट भए पनि जर्ज मुन्सी र म्याकब्रिजले स्कटल्यान्डलाई सजिलै विजय बनाए। मुन्सीले २८ बल खेल्दै ७ चौका र २ छक्कासहित ४५ रन बनाएका थिए। म्याकब्रिजले ४० बल खेलेर ७ चौका प्रहार गरे। नेपालबाट गुलशन र दीपेन्द्रले १-१ विकेट लिएका थिए।