काठमाडौँ - रुसी आक्रमणपछि देश छोडेर पलायन भएका युक्रेनीहरूलाई जाडो महिनामा घर नफर्किन युक्रेनी अधिकारीहरूले आग्रह गरेका छन्।
प्रधानमन्त्री इरिना भेरेश्चुकले देशमा ऊर्जा संकट गहिरिँदै ग्एकाले अनावश्यक जोखिम नलिन तथा देशलाई बाँच्नका लागि सहयोग गर्न विदेशमा बस्ने युक्रेनीहरूलाई अनुरोध गरेकी हुन्। मंगलवार राष्ट्रिय टेलिभिजनमा बोल्दै भेरेश्चुकले युद्धभूमिमा रुसको पराजय भइरहेको दाबी गरिन्। त्यही कारणले रुस रिसाएर सर्वसाधारणलाई आतंकति गरिरहेको अनि युक्रेनको ऊर्जा संरचनालाई तारो बनाइरहेको उनको भनाइ छ।
‘म तपाईंहरूलाई नफर्किन आग्रह गर्छु, हामी जाडोमा बाँच्नुछ। दुर्भाग्यवश, विद्युतीय ग्रिडहरू चल्नेछैनन्। रुसले के गरिरहेको छ, देखिरहनुभएकै छ। तपाईं स्वदेश आउनुपर्दैन। बाहिर बस्ने अवसर पाउनुभएको छ भने जाडो महिना उतै बस्नुहोला,’ उनले बताइन्।
वसन्त ऋतु लागेपछि सबैजना फर्किएर युक्रेनी शहर तथा गाउँ बनाएको हेर्न चाहेको पनि उनले बताइन्।