काठमाडौँ - विश्वकपमा इङल्याण्डले शानदार सुरुवात गरेको छ। अर रायानस्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा इरानमाथि इङल्याण्डले गोलको वर्षा गरेको हो। पहिलो खेलमा इरान ६-२ गोल अन्तरले पराजित भएको हो।
खेलको पहिलो हाफमा ३ गोल गरेको इङल्याडले दोस्रो हाफमा पनि ३ गोल नै थप्यो। इङ्ल्याण्डका ५ स्टारले गोल गर्दा साकाले दाहोरो गोल गरेका थिए। इरानका मेहदी तरेमीले २ गोल फर्काएका थिए।
इरानविरुद्ध इङल्याण्डका बुकायो साकाले २, रहिम स्टलिङ, मार्कस रासफर्ड, ज्याक ग्रिलिस र जुडे बलिङघमले समान १ गोल थपेका थिए।
खेलको २८ औँ मिनेटमा साकाको प्रहारले पोष्टको दिसा लिन नसक्दा इङल्याण्ड अग्रता बनाउन चुकेको थियो। त्यसको २ मिनेटपछि माउण्टको प्रहार पहिलो बारमा लाग्दै बाहिरिँदा इङल्याण्डले अग्रता बनाउन सकेको थिएन। इरानको पोस्टमा लगातार इङ्ल्याण्डले दबाब बनाएको थियो।
खेलको २० औँ मिनेटमा इरानका पहिलो रोजाइका गोलरक्षक अलि बिरानचन्द घाइते भएपछि इरान थप संकटमा पर्यो। उनको स्थानमा होस्सेन होस्सेनीले गोलपोष्ट सम्हाले।
३५ औँ मिनेटमा जुडे बिलिङघमले गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। बिलिङघमले डिफेन्डर ल्युक स को पासमा उत्कृष्ट गोल गरेका थिए। खेलको ४३ औँ मिनेटमा बुका साकाले गोल गर्दै अग्रता दोब्बर पारे। साकाले मगुइरेको पासमा गोल गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रहिम स्टलिङले कप्तान ह्यारी केनको पासमा गोल गर्दै खेललाई ३-० को अवस्थामा ल्याए। खेलको ६२ औँ मिनेटमा बुकायो साकाले व्यक्तिगत दोस्रो गोल गर्दा टोली ४–० ले अघि बढ्यो।
६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले गोल गर्दै खेललाई ४-१ को अवस्थामा ल्याए। ७१ औँ मिनेटमा इङल्याण्डका मार्कस रासफोर्डले गोल गर्दा टोलीले ५-१ को अग्रता लिएको थियो। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ज्याक ग्रिलिसले ९० औँ मिनेटमा गोल गर्दा इरानले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टी पायो।
तरेमी पेनाल्टीमा चुकेनन् र ६-२ मा खेल टुंगियो।
इंग्ल्यान्ड रहेको समूहमा इरान, अमेरिका र वेल्स छन्। इंग्ल्यान्डले दोस्रो खेलमा मङ्सिर ९ गते मध्यरात अमेरिकासँग र समूहको अन्तिम खेल मङ्सिर १३ गते मध्यरात वेल्ससँग भिड्नेछ।