काठमाडौँ - नेपाली फिल्म ‘एक मुठी बादल ( माइ सेयर अफ स्काइ)’ प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा छानिएको छ। शुक्रबार कान्स मार्केटमा फिल्मको ‘स्क्रिप्ट पिचिङ’ हुँदैछ।
निर्देशक लेखक तथा लेखक सहारा शर्मा र निर्माण कम्पनी गौंथली फिल्मका तर्फबाट अभिमन्यु दीक्षित फेस्टिभलमा पुगेका छन्। दुबैजनाले शुक्रबारको पिचिङमा अन्तर्राष्ट्रिय संयुक्त लगानीका लागि निर्माता खोज्न पहल गर्नेछन्।
भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी)ले यो नेपाली फिल्मलाई कान्स बजारको लागि छानेको हो। निर्माता दीक्षितले कान्सको प्रोडक्सन नेटवर्कमा सहभागिता जनाउनेछन्।
कान्स मार्केट अन्तर्गत नेपाली समयानुसार शुक्रबार राती हुने को-प्रोडक्सन नाइटमा फिल्म प्रस्तुत हुनेछ। यसका लागि संसारभरबाट करिब दुई दर्जनभन्दा फिल्मले स्क्रिप्ट प्रस्तुत गरेका छन्।
‘हामी उत्साहित छौं पिचिङको लागि’ कान्स फेस्टिभबाट सहारा र अभिमन्यूले भने, ‘यसले अन्य नेपाली फिल्मलाई पनि प्रोत्साहन मिल्नेछ।’
यसअघि ९० मिनेट लामो फिल्म ‘चेजिङ रेम्बो’ निर्देशन गरेकी सहाराले यो फिल्ममा महिला सशक्तीकरणको विषयवस्तु उठाएकी छन्। शर्माले भनिन्, ‘केटा मान्छेलाई सजिलो हुने गरेर संसार डिजाइन भएको छ। नारीले आफ्नो हक खोज्नुपर्ने सन्देश फिल्मले दिन्छ।’
मंगलबार बेलुकादेखि सुरु भएको कान्स १२ दिन चल्नेछ।