काठमाडौँ - अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदारका रूपमा रहेको बताएका छन्।
मेस्सीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी ३ राष्ट्रलाई सबैभन्दा चुनौतीका रूपमा लिएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो विश्वकप ट्रफी जिताउने लक्ष्यमा छन्।
‘जब हामी दाबेदारबारे कुरा गर्छौँ। हामी सधैं एउटै टाेलीका बारेका कुरा गर्छौँ,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘कुनै टाेलीलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्यभन्दा अलि माथि छन्। तर, विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ।’
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ। आफ्ना लागि यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन्। ‘हामी धेरै उत्साहित छौँ। हामी राम्रो समूह रहेकाले विस्तारै अघि बढ्ने सोचमा छौँ,’ मेस्सीले भने, ‘हामी उत्कृष्ट तरिकाले विश्वकपकाे सुरुवात गर्ने आशमा छौँ।’
विश्वकप फुटबल यही २० नोभेम्बरदेखि कतारमा सुरु हुँदैछ। समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकपकाे सुरुवात गर्नेछ। त्यसपछि उसले मेक्सिकोसँग २६ तथा पोल्याण्डसँग ३० नोभेम्बरमा खेल्नेछ।