काठमाडौँ - सोमपाल कामी र ललित राजवंशीको तीन–तीन विकेटप्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा यूएईलाई ४३.२ ओभरमा अल आउट गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले सबै विकेट गुमाउनुअघि एक सय ९१ रनको योगफल तयार गर्यो।
यूएईका लागि ओपनर मुहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै, अलिसान सारफुले ३५, वृत्य अरविन्दले २५, बासिल हामिदले २४ र कप्तान सीपी रिजवानले २२ रनको योगदान गरे।
नेपालका लागि सबै (६) जना बलरले विकेट लिए। १० ओभरमा ४१ रन खर्चिएका ललितले ३ विकेट लिएका थिए। यस्तै, सोमपालले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। करण केसी, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १-१ विकेट लिए।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिने नेपालले शृंखला जोगाउनका लागि १ सय ९२ रनको लक्ष्य पूरा गर्नुपर्नेछ। सोमबार भएको पहिलो एकदिवसीयमा नेपाल ८४ रनले पराजित भएको थियो।