काठमाडाैँ - खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेकाे कारण जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधिनजिक पुगेका हुन्।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ (१०–८) ले जितेका थिए। दोस्रो सेट ६–६ को स्थितिमा रहँदा जेभेरेभ लड्न पुगेका थिए। त्यसपछि उनले खेल त्याग्नुपर्दा नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन जित्ने संघारमा पुगेका हुन्।
जेभेरेभको चोटपछि नाडाल आँफै आफ्नो प्रतिद्वन्द्वीलाई जाँच गर्न एक चिकित्सकसँगै कोर्टमा पुगेका थिए। त्यहाँको प्राथमिक उपचारपछि उनले बैशाखीको साहरामा समर्थकलाई ताली बजाइरहँदा नाडालले उनलाई अंकमाल गरेर बिदाई गरेका थिए।
नाडालले भने, ‘यो निकै कठिन छ र म उनको लागि निकै दुःखी छु। उनी अविश्वसनीय प्रतियोगिता खेल्दै थिए। मलाई थाहा छ उसले ग्रान्ड स्लामको लागि कत्तिको लडिरहेको छ, उसले एक भन्दा बढी जित्नेछ। म उसलाई धेरै धेरै शुभकामना दिन्छु ’
‘यस्तो अवस्थामा धेरै कुराहरू भन्न गाह्रो छ। मेरो लागि रोलान्ड गारोसको फाइनलमा पुग्नु सपना हो तर एकै समयमा त्यो तरिका समाप्त गर्नु राम्रो होइन। ’नाडालले भने, ‘म एक भागमा थिए। कोर्ट बाहिर उनको उपचार भइरहँदा र उहाँ रोएको क्षण एकदमै कठिन थियो।’
आफ्नो ३६औं जन्मदिन मनाइरहँदा नाडाल फ्रेन्च ओपनको इतिहासमा पुरुष एकलको फाइनलमा प्रवेश गर्ने दोस्रो पाका खेलाडी बनेका छन्। यसअघि सन् १९३० मा अमेरिकाका बिल टिल्डेन ३७ वर्षको उमेरमा फाइनल प्रवेश गरेका थिए।
अब नाडालले उपाधिका लागि आइतबार नर्वेजियन क्यास्पर रुडसँग प्रतिस्पर्धा गर्नेछन्। क्यास्परले क्रोएसियाका मारिन सिलिकलाई ३–६, ६–४, ६–२ र ६–२ को सेटमा हराएका थिए।