वर्षाका कारण कर्णाली प्रदेश राजधानी जोड्ने सबै राजमार्गहरु अवरुद्ध

सुर्खेत - बुधबारदेखि जारी अबिरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन्। जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ। 

प्रदेश ट्राफिक कार्यालयका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोड्ने सबै ठुला राजमार्ग तथा सडकहरू पहिरोका कारण बन्द भएका छन्। प्रदेश ट्राफिक कार्यालयका डीएसपी भीम खड्काका अनुसार लुम्बिनी प्रदेशसँग जोड्ने कोहलपुर–सुर्खेत रत्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्।  रत्न राजमार्गको बिचमा पर्ने विउरेनी भन्ने ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

जिल्ला ट्राफिकले उक्त सडक खुलाउने प्रयास भइरहेको बताएको छ। यस्तै वीरेन्द्रनग–जुम्ला जोड्ने कर्णाली राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। दैलेख दुल्लु नगरपालिका–३ बोतखोला भन्ने ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा दसैं मनाएर प्रदेश राजधानी फर्कने कर्णालीका अन्य जिल्लाका यात्रुहरु बाटोमा अलपत्र परिरहेका छन्। कर्णाली राजमार्ग अवरुद्ध हुँदा दैलेख, कालिकोट, जुम्ला, मुगु र अछामका नागरिकहरुको आवत–जावत बन्द भएको प्रहरीले जनाएको छ। 

यस्तै कर्णाली राजमार्गको अन्य तीन ठाउँमा पनि पहिरो गएको छ। जुम्लाको तिला गाउँपालिका–१ गाडगोडेनी, कालिकोटको खडाचक्र नगरपालिका –१ सुनार खोलामा र दैलेखको दैलेख सांगेतडा भन्ने ठाउँमा पहिरोका कारण सडक पुरिएको छ।  

यस्तै वीरेन्द्रनगर, गुराँसे हुँदै दैलेख सदरमुकाम जोड्ने सडकखण्ड पनि अवरुद्ध भएको छ। उक्त राजमार्ग बिहीबार नै अवरुद्ध बनेको हो। दैलेखको गुराँस गाउँपालिका–४ लोहा खोलामा पहिरो गएको छ। यस्तै अन्य तिन ठाउँमा पनि पहिरोले सडक पुरेको छ।  रुकुम पश्चिम, सल्यान र जाजरकोटबाट प्रदेश राजधानी वीरेन्द्रनगर जोड्ने सुर्खेत–जाजरकोट सडक खण्ड पनि अवरुद्ध भएको डीएसपी खड्काले जानकारी दिए। उनका अनुसार उक्त सडकको पोखरी भन्ने स्थानमा  बाटो अवरोध भएको छ, भने सल्यान, सल्लिबजार–बोटेचौर सडक पनि अवरुद्ध भएको छ। 

यस्तै वीरेन्द्रनगर नगरपालिका–१६ रातानाङला देखि धर पोखरा जाने  सडक, वीरेन्द्रनगर–तरङ्गा जोड्ने ग्रामिण सडकहरु पनि वर्षात्को कारण अवरुद्ध भएका छन्। डीएसपी खड्काका अनुसार कर्णाली राजमार्ग बाहेक अन्य सडकहरू खुलाउने प्रयास भइरहेको छ। उनले भने,‘कर्णाली राजमार्गको एउटा ठाउँमा ठुलो पहिरो गएको छ। उक्त ठाउँ खुलाउन जाने डोजर नै पहिरोमा गाभिएका कारण ढिलाई हुने देखिन्छ।’
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×