दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

काठमाडौँ -  म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो। रघुगङ्गा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी –५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा  गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो। दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए। दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए। उनका अनुसार उक्त आयोजनाहरुमा कूल लागतमध्ये ९० प्रतिशत सङ्घीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्नेछ। ठूलो आयोजना भएकाले उपभोक्ताले नगद लगानी गर्न सक्ने अवस्था नदेखिएपछि १० प्रतिशत श्रमदान बापतको रकम नगद नै जम्मा गर्नुपर्ने भएकाले उक्त रकमको सुनिश्चिता स्थानीय तहमार्फत गराउन पहलसमेत सुरु गरिएको आयोजनाले जनाएको छ। घोप्टेखोलाबाट दुई हजार ६५८ र भगवती पिप्ले खानेपानी आयोजनाबाट दुई हजार ४१६ घरधुरी लाभान्वित हुने इन्जिनियर रेग्मीले बताए।

रघुगङ्गा–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङ्कीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइपलाइन रहने प्रस्ताव गरिएको छ। यो आयोजना निर्माणका लागि रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×