डेल्टा फोर्सको गोप्य अपरेसनमा मादुरो पक्राउ परेको ट्रम्पको दाबी, आजै पत्रकार सम्मेलन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाको विशेष युनिट डेल्टा फोर्सले पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्।

द न्युयोर्क टाइम्ससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले यो अपरेसनलाई ‘अत्यन्त सफल र सानदार सैन्य कारबाही’ भन्दै अमेरिकी सेनाको खुलेर प्रशंसा गरे। “धेरै राम्रो योजना र असाधारण सेना—वास्तवमै यो ऐतिहासिक अपरेसन थियो,” ट्रम्पले भने।

ट्रम्पले यसबारे थप विवरण सार्वजनिक गर्न स्थानीय समयअनुसार शनिबार बिहान ११ बजे फ्लोरिडास्थित आफ्नो निवास मार–ए–लागोमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिएका छन्।

न्युयोर्कबाट प्रकाशित हुने सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मादुरोलाई डेल्टा फोर्सले नियन्त्रणमा लिएर भेनेजुएलाबाट अन्यत्र लगिएको जनाएको छ। तर, मादुरोलाई कहाँ लगिएको हो भन्नेबारे ट्रम्प वा अन्य कुनै अमेरिकी अधिकारीले स्पष्ट पारेका छैनन्।

मादुरोमाथि अमेरिकामा अन्तर्राष्ट्रिय लागुऔषध तस्करीलाई सहयोग गरेको गम्भीर आरोप छ। अमेरिकी अभियोजन पक्षका अनुसार उनले ‘कार्टेल डे लोस सोल्स’ नामक लागुऔषध तस्करी नेटवर्कलाई सहयोग गर्दै अमेरिकातर्फ कोकेन तस्करी सहज बनाएका थिए।

यसअघि जो बाइडेन प्रशासनले मादुरोलाई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई २ करोड ५० लाख डलर पुरस्कार घोषणा गरेको थियो। ट्रम्प प्रशासनले उक्त रकम बढाएर ५ करोड अमेरिकी डलर पुर्‍याएको थियो।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार दशक लामो अनुसन्धानपछि मादुरो र उनका नजिकका उच्च सरकारी अधिकारीहरूमाथि कोकेन तस्करीसम्बन्धी अभियोग म्यानहटनस्थित संघीय अदालतमा दायर गरिएको थियो।

यसैबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मादुरो जीवित रहेको प्रमाण सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी छन्। एक सरकारी रेडियोसँग कुरा गर्दै उनले मादुरोलाई कहाँ राखिएको हो र उनी सुरक्षित छन् भन्ने ठोस प्रमाण आवश्यक रहेको बताइन्।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशमाथि आक्रमण भएको दाबी गर्दै राष्ट्रिय स्तरमा सेना परिचालन गरिएको जानकारी दिएका छन्। “हामीमाथि आक्रमण गरिएको छ, तर हामी कसैको दबाबमा झुक्दैनौँ,” उनले भने। यद्यपि, मादुरो कहाँ छन् भन्नेबारे उनले पनि केही खुलाएका छैनन्।

मादुरो पक्राउ परेको दाबीपछि अमेरिका–भेनेजुएला सम्बन्ध गम्भीर संकटमा पुगेको छ भने विश्व समुदायले घटनाक्रमलाई उच्च चासोका साथ हेरिरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×