काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतरबाट सभापतिका आकांक्षी डा. शेखर कोइरालाले महाधिवेशननमा आफूले पनि सभापतिमा उम्मेदवार दिने निर्णय नै अन्तिम भएको घोषणा गरेका छन्। नेता डा. कोइराला आशीर्वाद लिन भनी सोही पदका लागि अर्का आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलकहाँ पुगेका छन्।
आज बिहीबार वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटारस्थित पौडेल निवासमै पुगेका कोइरालाले आफूलाई आशिर्वाद दिन आग्रह गरेका हुन्। कांग्रेसको संस्थापनइतरमा सभापतिको साझा उम्मेदवार बनाउन पछिल्लो तीन दिनयता निकै दौडधुप चलिरहेको देख्न सकिन्छ। तर, नेताहरू सहमतिमा पुग्न नसक्दा संस्थापनइतरतर्फबाट सभापतिमा पौडेल, कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइराला गरी चार दाबेदारमध्ये सबै भिड्ने या को पछि हट्ने भन्ने निर्णय हुन सकिरहेको छैन। नेता डा. शशांक कोइरालाले भने सहमति भएमा आफू दाबेदारीबाट पछि हट्न तयार रहेको बताएका छन्।
नेता शेखर कोइराला र वरिष्ठ नेता पौडेलबीच करिब आधा घण्टा भेटवार्तामा भएको उल्लेख गर्दै कोइरालाका सहयोगी दिनेश थपलियाले पौडेलसमक्ष कोइरालाले भनेको भनाइलाई जस्ताको त्यस्तै बताएका छन्, ‘प्रकाशमान सिंह लड्छु नै भन्दै हुनुहुन्छ। अब तपाईं के गर्ने, लड्ने कि नलड्ने? मचाहिँ सभापतिमा लड्ने नै भएँ। मलाई तपाईंको आशीर्वाद चाहियो।’ साथै, कोइरालाले साझा उम्मेदवार बनाउन सकिन्छ भने सहमतिका लागि आफू अझै पनि तयार रहेको समेत जानकारी गराएको बताइएको छ।
वरिष्ठ नेता पौडेलसँगको भेटवार्ता सकिनासाथै, नेता कोइरालाले आफूनिकट जिल्ला सभापति र पूर्वसभापतिहरूसँग छलफल गरेका छन्।