पाँचथर - याङवरक ३ ओयामले तरुण गोल्डकप फुटबलको उपाधि जितेको छ। पाँचथरको याङवरक गाउँपालिका केन्द्र थर्पुमा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा फलैंचालाई हराउँदै ओयामले उपाधि जितेको हो।
निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा ओयामले फलैंचामाथि ३-२ को जित निकालेको हो। विजेता टिमले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरेका छन्। याङवरक गाउँपालिकाका ७ टिम सहभागी उक्त प्रतियोगिता नेपाल तरुण दलको ६९ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल पाँचथरले आयोजना गरेको हो
कांग्रेस केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बेले उद्घाटन गरेको उक्त प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कांग्रेसकै प्रदेश सदस्य टेकेन्द्र काम्बाङ र तरुण दल जिल्ला अध्यक्ष सुमन लामाले पुरस्कार र ट्रफी प्रदान गरेका थिए।