काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन्। नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए।
जोशीले देउवा केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका र अहिले पनि फलोअपमा जान लागेका बताए। उनी पहिले नै जानुपर्ने थियो तर व्यस्तताले जान नपाएको पनि जोशीले जानकारी दिए।
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन्। पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्। यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ। यसअघि २०७६ जेष्ठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए।