निर्वाचन आयोगले थाल्यो स्थानीय तहको चुनावको तयारी

काठमाडौँ- स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ। सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो।

चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने भएको छ। कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० दिन चाहिनेमा त्यो भन्दा कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ। समय अभाव भएकाले दिनरात चुनावको तयारी गरिने उनले बताए। आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ। ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर आयोगले ७ सय ५३ वटै पालिकामा पठाउने छ।

२०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ। चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको आयोगले जनाएको छ। वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो  मताधिकार प्रयोग गर्न नसक्ने पनि आयोगले जनाएको छ।

चुनावका बेला नेपाल आए भने मत हाल्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। आयोगले चुनावका लागि निर्देशिका, बजेट र जनशक्तिका विषयमा निर्णय गर्न बाँकी छ। यसपालि चुनावमा १२ अर्बभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ।

यस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×