काठमाडौँ - बलिउड अभिनेता सलमान खानपछि अभिनेत्री स्वरा भास्करलाई पनि ज्यान मार्ने धम्की आएको छ। मुम्बईस्थित भर्सावामा रहेकी उनलाई आफ्नै निवासमा ज्यान मार्ने धम्कीसहितको पत्र आएको हो।
धम्की आएसँगै स्वराले मुम्बई प्रहरीमा एफआईआर दर्ता गराएकी छिन्। स्वरालाई आएको धम्कीमा चेतावनी शीर्षक र स्वरा भास्करको नाम पत्रको माथि उल्लेख गर्दै लेखिएको छ, '....सावरकर जीको अपमान हामी सहँदैनौँ, यस देशका युवाहरू आरामले आफ्नो फिल्म बनाउनु नत्र अन्त्येष्टि उठ्नेछ।,आफ्नो बुबालाई सोध्नु केके छ यो देशका लागि। जय हिन्द देशका युवाहरू।' पत्रको खाममा पठाउनेमा रणवीर नामसहित ठेगाना पनि उल्लेख गरिएको छ।
उक्त चेतावनीपत्र सामाजिक सञ्जालमा राख्दै स्वरा लेख्छिन्, 'देशका युवाहरू सडकमा रोजगारीको माग गरिरहेका छन्, यी प्रजाति महँगी, बेरोजगारी, भोकमरी सबै सहन्छन्...यद्यपि, ऐतिसाहिक सत्य र तथ्य सहँदैनन्!'
मुम्बई प्रहरीका एक अधिकारीका अनुसार उजुरीको आधारमा अज्ञात व्यक्तिहरूविरुद्ध गैर-अज्ञात अपराध दर्ता गरिएको छ र अनुसन्धान जारी गरेको छ।
यता बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानविरुद्ध पनि पञ्जाबी गायक सिधु मोसेवालाको हत्या पछि ज्यान मार्ने धम्की आएको थियो।