काठमाडौँ - प्रतिनिधिसभाको आज आइतबारको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता पेस हुने भएको छ।
सङ्घीय संसद् सचिवालयद्वारा आजको बैठकका लागि तय गरेको कार्यसूचीको तेस्रो नम्बरमा उक्त सम्झौता पेस गरिनेछ। अर्थमन्त्री जनार्दन शर्माले सो सम्झौता पेस गर्नेछन्। आजको बैठकमा लोक सेवा आयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७-७८ पेस गर्ने कार्यक्रम छ।
त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टेबुल गर्ने सहमति गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले भने अहसमति राखेका थिए।
प्रमुख सचेतक गुरुङ, सांसदहरू रेखा शर्मा र जयपुरी घर्तीले संसद्मा प्रमुख प्रतिपक्षीको अवरोध जारी रहेको, एमसिसीका केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै असहमति राखेका छन्।