पर्वत -पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन्। जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन्। उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ। नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ।
सुकुम्बासी बस्तीका सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ। बस्तीकै मालढुङ्गा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आएकी राममाया परियारलाई पनि बासको चिन्ता छ। “सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त कतै जग्गा–जमिन छैन”, उनले भनिन्, “कहाँ बस्ने के खाने दिनभर ज्याला–मजदुरी गरेर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नै धौधौ छ। जमिन छैन, बस्ने बास कसरी बनाउने।”
“बाउबाजेको पालादेखि यहीँ बसियो, अन्यत्र जाने ठाउँ पनि छैन। वर्षौंदेखि बसे पनि लालपुर्जा नहुँदा समस्या परेको छ”, उनले दुखेसो पोखिन्। “लालपुर्जा दिलाइदिन्छौँ भन्नेहरु धेरै आए तर हामीले अहिलेसम्म पाउन सकिरहेका छैनौँ। चुनावताका पार्टीका नेताहरू आउँछन्, आश्वासन बाँड्छन् तर काम गर्दैनन्” उनले दुःखेसो सुनाइन्।
यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुःखेसो एउटै छ। सबै जनाको एकतलाको छाप्रोको बास छ। लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन्। बस्ती तल सडक र माथि सामुदायिक वन छ। सडक विस्तार गर्दा बस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले बस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासी बताउँछन्।