काठमाडाैँ - विश्व फुटबलका महान् हस्ति हुन डिएगो म्याराडोना। फुटबल र फुटबल खेलाडीको चर्चा चल्दा म्याराडोनाको नाम नआउने भन्ने हुँदैन।
अझ त विश्वकपको माहौलमा म्याराडोनाको निकै चर्चा हुन्छ। अर्जेन्टिनाको फुटबललाई एक नयाँ उचाइमा पुगाउन महत्त्वपूर्ण योगदान गरेको म्याराडोनाको निधन सन् २०२० मा भएकाे थियाे। सन् १९६० मा जन्मेका म्याराडोना अर्जेन्टिनी फुटबलमा भगवान्को उपमा पाएका छन्।
कतार विश्वकप आउन केही महिना मात्र बाँकी छ। यस्तो अवस्थमा म्याराडोनाको गोलको चर्चा चल्नेछ। सन् १९८६ मा विश्वकपको १३औँ संस्करण चलिरहेको थियो। जम्मा २४ टोली सहभागी भएको प्रतियोगिता मेक्सिकोमा चलेको थियो। सबैभन्दा विवादित र चर्चाको शिखरमा पुगेको विश्वकप नै सन् १९८६ को हो।
मेक्सिकोले दोस्रो पटक विश्वकपको आयोजना गर्ने मौका पाएको थियो। विश्व फुटबलमा त्यो समय म्याराडोनाको युग थियो। उक्त विश्वकपमा मेक्सिको र इटालीले पहिले नै स्थान बनाएका थिए।
उक्त विश्वकपमा क्यानडा, डेनमार्क र इराकले डेब्यू गरेका थिए। विश्वकप फुटबलमा छाएको अर्जेन्टिनाका लागि यो दोस्रो विश्वकपको उपाधि थियो। अर्जेन्टिनाले पहिलो विश्वकप सन् १९७८ मा जितेको थियो। वेस्ट जर्मनीलाई ३–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो। उक्त विश्वकपमा म्याराडोनाले क्वाटरफाइनल खेलमा इङ्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए।
उनले गरेको एक गोलको चर्चा धेरै चुलेको थियो। अर्जेन्टिनालाई उपाधि होडमा जान योगदान गरेको उक्त गोलको चर्चा हरेक फुटबल विश्वकपमा चल्छ। म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलले चर्चाको विषय बनाइएको थियो।
इङ्ल्यान्डविरुद्धको उक्त गोल म्याराडोनाले पाँच जना इङ्लिस खेलाडीलाई ड्रिबल गर्दै गोल गरेका थिए। उनले गोल गर्नुअघि करिब ६० यार्डसम्म एक्लै बल कुदाएका थिए। त्यसपछि अर्जेन्टिनाले हालसम्म विश्वकप फुटबलको उपाधि उचाल्न सकेको छैन।
त्यसै खेलमा म्याराडोनाले लगाएको जर्सी कीर्तिमानी मूल्य ९ दशमलव ३ मिलियन डलरमा बिकेको थियो। म्याराडोनाले उक्त विश्वकपमा ५ गोल गरेका थिए। विश्व फुटबलका हस्ती म्याराडोना अहिले भौतिक रूपमा छैनन्। उनलाई हरेक विश्वकप र फुटबलको चर्चामा सबैले सम्झन्छन्।
विश्व फुटबलमा लाखौं खेलाडीलाई प्रेरित गर्ने फुटबल लिजेण्ड म्याराडोना फुटबल जगतका लागि अमर छन्।