बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढ्दै २६३३.७६ विन्दुमा बन्द भएको छ। यो अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशतको वृद्धि हो।
नेप्सेसँगै सेयर कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार उक्त रकम बढेर पाँच अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
यस दिन ३४२ वटा धितोपत्रको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर कारोबार भएको हो। कुल कारोबारमा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रह्यो।
बुधबार एसवाई प्यानल र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यी कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ९६८ रुपैयाँ र ४१० रुपैयाँ ३० पैसा पुगेको छ।
यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १ हजार ३४६ रुपैयाँ ५० पैसामा झरेको छ।
कारोबार रकमका आधारमा ग्रीन भेन्चर शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको प्रतिकित्ता ५१० रुपैयाँमा १७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। दोस्रो स्थानमा बन्दीपुर केबलकार रह्यो, जसको १५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।
आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेपछि समग्र बजार सकारात्मक देखिएको हो।