अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

वीरगञ्ज - पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ। पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्‍याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका छन्। 

प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो। अध्यक्षको सवारी साधन निःशुल्क उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको गाउँपालिकाका साहले जानकारी दिए। 

यसैगरी  गाउँपालिका भित्रका बिरामीको उपचारका लागि पालिकाबाट वीरगञ्ज कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न वा ती स्वास्थ्य संस्थाबाट उपचार गरी घरसम्म आउन इन्धन खर्चबापत न्यूनतम शुल्कप्रति बिरामी रु पाँच लिई गाउँपालिको एम्बुलेन्सबाट ल्याउने लैजान गरी व्यवस्थापन मिलाउने योजना रहेको पालिका अध्यक्ष तिवारीले जानकारी दिए। 

वीरगञ्ज बजारबाट न्यूनतम करिब १० देखि अधिकतम २५ किलोमिटर क्षेत्रभित्र बिन्दबासिनी गाउँपालिका पर्दछ। विशेष गरी पालिका भित्रका हरेक बिरामीलाई यसरी न्यूनतम इन्धन शुल्क लिएर बिरामीलाई वीरगञ्जका कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि बिरामी लैजाने वा ल्याउने व्यवस्थाले पालिका भित्रका सबैजसो बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ। 

यसैबीच कार्यपालिकाको बैठकलाई थप पारदर्शी बनाउने उद्देश्यले पर्साको बिन्दबासिनी गाउँपालिकाले कार्यपालिकाको बैठकलाई गाउँपालिकाको फेसबुक पेज (लाइभ) मार्फत सार्वजनिक गर्न थालिएको छ। गाउँपालिका हरेक बैठकको निर्णय सर्वसाधारणले पनि थाहा पाउन आवश्यक रहेको भन्दै कार्यपालिकाको बैठकलाई पालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न सुरु गरिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×