बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेश हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।

बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम एक घण्टा ढिला गरी १२ बजेदेखि  सुरु भएको छ। बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका छन्। 

उनले आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकमा प्रवेश गराउनुभएको राजनीतिक प्रतिवेदनको विस्तृत विवरण आजको बन्दसत्रमा प्रस्तुत गर्नेछन्। यस्तै, नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ। 

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ। समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको कार्यालय सचिव ढकालको भनाइ छ। 

समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ। अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ। समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहनुभएको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ।

सो राजनीतिक प्रतिवेदन ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×