काठमाडौँ - १० खेलाडीमा रहेर खेलेको लिड्स युनाइटेड बुधबार राति घरेलु मैदानमा चेल्सीसँग ३–० ले पराजित भएको छ। हारसँगै लिड्स इंग्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा परेको छ।
लिगमा अब दुई खेल बाँकी हुँदा लिड्स ३४ अंकसहित रेलिगेसन क्षेत्रमा छ। रेलिगेशन क्षेत्रभन्दा माथि रहेको बर्नलीको पनि समान ३४ अंक छ। तर, गोलअन्तरमा बर्नली अगाडि रहेको हो। प्रिमियर लिगबाट यसअघि नर्विच सिटी र वाटफोर्ड रेलिगेसनमा परिसकेका छन्।
लिड्सले अब घरेलु मैदानमा ब्राइटनविरुद्ध खेल्नेछ भने ब्रेन्टफोर्डसँग अवे खेलमा प्रतिस्पर्धा गर्नेछ। बर्नलीले टोटनहम र एस्टन भिल्लाविरुद्ध अवे खेलमा प्रतिस्पर्धा गर्नेछ।
विजयी चेल्सीले शीर्ष चारको स्थान पक्का गरेको छ। चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ। त्यो चौथो स्थानको आर्सनलभन्दा चार र पाँचौँ स्थानको टोटनहमभन्दा आठ अंकले माथि हो।
चेल्सीले गए रासित चौथो मिनेटमै मासन माउन्टको गोलबाट अग्रता लिएको थियो। २४औँ मिनेटमा ड्यानियल जेम्सले रातो कार्डको सामना गरेपछि लिड्स युनाइटेड १० खेलाडीमा सीमित भएको हाे। ५५औँ मिनेटमा क्रिस्टियन पुलिसिकले चेल्सीको अग्रता दोब्बर बनाएका थिए। खेल सकिन सात मिनेट बाँकी हुँदा रोमेलु लुकाकुले अर्को गोल थपेपछि चेल्सीले सहज जित निकालेको हो।