काठमाडौँ - प्रेमकथानक फिल्म ‘सम्झना-बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ। निमेष प्रधान निर्देशित फिल्म गत शुक्रबार अर्थात् ३१ असारदेखि देशब्यापी प्रदर्शनमा छ।
फिल्मले एक सातामा कुल २ करोड १८ लाख रुपैयाँ ग्रस गरेको जानकारी निर्माण पक्षले दिएको छ। रेबिका प्रधान र अद्वितीय प्रधानले निर्माण गरेको फिल्मले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।
आकाश श्रेष्ठ, पूजा शर्मा,सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा रहेको फिल्म राजधानी र उपत्यकाका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दोश्रो सातामा समेत उत्साहजनक रुपमा प्रदर्शन भइरहेको जानकारी निर्देशक प्रधानले दिएका छन्।
फिल्ममा निर्देशक प्रधानकै लेखन रहेको छ। फिल्मको कार्यकारी निर्माता सुवास भुर्तेल हुन्।
दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले वितरण गरेको हो। शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल,निमेष प्रधानलगायतको संगीत रहेको फिल्म १६ सेक्टेम्बरबाट भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको खबर निर्माता आद्वितीयले दिएका छन्।
प्रदर्शनको दोश्रो दिन अर्थात गत शनिबार फिल्मको शीर्ष गीत-सम्झना बिर्सना..सार्वजनीक गरिएको थियो। अगाडिका दुई गीत-परेलीमा लुकाउछु र हाँस्ने खेल्ने बेलैमा झै दर्शकस्रोताले शीर्ष गीत पनि मन पराइरहेका छन्।