काठमाडौँ - दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ। बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिटले प्रदर्शन मिति घोषणा गरेका हुन्।
अब यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ। जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ रहेका छन्।
यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘पर स्त्री’ को रिलिज भने सरेको छ। ‘पर स्त्री’ अब १९ फागुनमा रिलिज हुने समेत कार्यक्रममा जानकारि दिइएको छ।
कार्यक्रममा ‘पर स्त्री’ की निर्माता शर्मिला पाण्डेले दीपेन्द्रको फिल्म ‘के घर के डेरा’ का लागि ‘पर स्त्री’ रिलिज सारिको बताइन् ‘मैले पहिले कार्तिकमा ‘पर स्त्री’ रिलिज डेट घोषणा गरेको थिएँ। तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि दीपेन्द्रको ‘के घर के डेरा’ का लागि मिति छाडेको हुँ’ उनले भनिन्।
‘पर स्त्री’ सुरज पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायत कलाकारको मुख्य अभिनय रहेको छ। युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन्।