काठमाडौँ - दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ।
दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो । एक सय ९२ रनको लक्ष्य पछ्याएको दुर्गास्थानको पारी ६.५ ओभरमा सवै विकेट गुमाएर ६२ रनमै समेटिएको छ। उसका लागि नवराज बडूले १३ र रमेश बडूले ११ रन बनाए। हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिएको छ। बलिङतर्फ दशरथचन्दका जगदीश चन्द एक्लैले ६ विकेट लिए। त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिला ब्याटिङ गर्दै दशरथचन्दले १८.३ ओभरमा सवै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। उसका लागि जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए। बलिङतर्फ दुर्गास्थानका राकेश बडूले तीन विकेट लिए। दशरथचन्दका जगदीश चन्द ‘म्यान अफ दी म्याच’ घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिएका हुन्।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी चैत २ सम्पन्न हुनेछ। उपाधि विजेता टोलीले रु ७५ हजार र उपविजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए।