काठमाडौँ - पाेर्चुगिज फरवार्ड क्रिस्टियानाे राेनाल्डाे इंग्लिस क्लब म्याचेस्टर युनाइटेडकाे प्रि-सिजन भ्रमणमा सहभागी नहुने भएका छन्। युनाइटेडले टोली प्रि-सिजनका लागि थाइल्याण्ड र अस्ट्रेलियाको भ्रमणमा जाँदै फरवार्ड रोनाल्डो सहभागी नहुने बताएको हाे।
केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए। रोनाल्डो साेमबारबाट प्रशिक्षणमा सहभागी हुने बताइए पनि उनले पारिवारिक कारण आउन नसक्ने जनाएको क्लबले बताएको छ।
क्लबका प्रवक्ताले भने, ‘उनी पारिवारिक कारण थप केही समय बिदामा रहनेछन्। ययद्यपि युनाइटेड र रोनाल्डोबीचको सम्झौता कायम छ र उनी नयाँ सिजनमा पनि हामीसँगै हुनेछन्।'
युनाइटेडले थाइल्यान्डमा लिभरपुल तथा अस्ट्रेलियामा क्रिस्टल प्यालेस र एस्टन भिल्लाको सामना गर्नेछ।