काठमाडौं - जिम्बाब्वेको ‘ए’ टोलीसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आजदेखि अभ्यास सुरु हुने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय टोलीमा स्थान बनाएका २३ खेलाडीलाई प्रशिक्षण दिइनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको थियो।
टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, आसिफ सेख, रोहितकुमार पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनील धमला छन्।
आयोजक नेपालले भ्रमणकारी टोली जिम्बाब्वे ‘ए’सँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्नेछ। यही टोलीबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ।
एकदिवसीय शृंखला वैशाख १७ देखि २१ सम्म र ट्वान्टी–२० वैशाख २३ देखि २६ गतेसम्म सञ्चालन हुने तालिका छ।