सन्दीपलाई सर्वोच्चले दियो विदेश यात्राको अनुमति, आईसीसीको निर्णय कुर्दै क्यान

काठमाडौँ - सर्वोच्च अदालतले जबर्जस्ती करणी मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश सदर गर्दै उनलाई विदेश जान अनुमति दिएको छ । सोमबार सर्वोच्चको संयुक्त इजलासले बलात्कार आरोपित लामिछानेलाई क्रिकेट खेल्नका लागि बाहिर जान पाउने, तर खेल सकिएको १५ दिनभित्र नेपाल फर्किई मुद्दा चलिरहेको अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

यद्यपि यूएईका जारी क्रिकेट वर्ल्डकप लिग २ सीरीजमा सहभागिता जनाउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने अहिलेसम्म उनलाई स्विकृति दिइसकेको छैन।

सीरीज अन्तर्गत नेपालको आगामी खेल यही बिहिबार यूएईसंग खेल्दै छ। आईसीसीले अनुमति दिएको खण्डमा सन्दीप यो खेलका लागि नेपाली टीममा सहभागि हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि नै सन्दीप्लाई यूएई पठाउने प्रक्रिया थालेको भएता पनि आईसीसीको निर्णय नआइसकेकाले अरु कदम चाल्न सकेको छैन। क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार सन्दीपको भिसाको लागि यूएईको राजदूतावासमा सोमबार नै उनको पासपोर्ट बुझाइएको छ भने भिसा आएपछि टिममा समावेश गरेर यूएई पठाउने प्रक्रियामा जाने बताएका छन्।

प्रतियोगिताका क्रममा कुनै पनि देशले आफ्नो टिममा खेलाडी थपघट परिवर्तन गर्नु पर्दा आइसीसीसँग अनुमति लिनुपर्ने नियम छ। नेपालको १५ सदस्यीय टिम शनिवार नै यूएई गएर सोमबार पहिलो खेल जितिसकेको अवस्था छ। बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको छ।

आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उनले कुन खेलाडीलाई रिप्लेस गर्नेछन् भन्ने बारेमा क्यानले अहिलेसम्म केही पनि बताएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×