काठमाडौँ - स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियाल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३-१ अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा रियालको जीतमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान १-१ गोल गरेका थिए। बार्सिलोनाको फेरान टोरेसले १ गोल गरेका थिए।
आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो। ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरेका थिए। ८३औं मिनेटमा बार्सिलोनाका वैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २-१ मा झरेको थियो। तर, इन्जुरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जीत निकाल्न सफल भएको हो।
जीतसँगै रियाल ९ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा रहेको छ। सिजनको पहिलो हार व्यहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।